नेपाल भित्रियो साओमीको रेडमी १० प्राइम, यस्तो छ मूल्य र फिचर

काठमाडौं– चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीको पछिल्लो संस्करणको फोन ‘रेडमी १० प्राइम’ नेपालमा लञ्च भएको छ।

नेपालसहित अन्य बजारमा खुबै चर्चा कमाएको रेडमी ९ प्राइमको सफलतापछि कम्पनीले त्यसकै अपग्रेटेड भर्जनका रुपमा रेडमी १० प्राइम ल्याएको हो। यो फोन ५० मेगापिक्सल क्यामेरा भएको पहिलो रेडमी फोन भएको पनि कम्पनीको दाबी छ।

यो फोनमा हेलियो जी–८८ चिपसेट छ। यो फोन मेमोरी एक्सटेन्सनको सुविधाका साथ उपलब्ध छ। यो सुविधाअन्तर्गत प्रयोगकर्ताले अस्थायी रुपमा (भर्चुअल्ली) २ जीबीसम्म थप्न सक्छन्।

यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, हाइपर इन्जिन २.०, मियूआई १२.५ लगायतका फिचर छन्।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ।  स्क्रिनको सुरक्षाका लागि कोरिङ गोरिल्ला थ्री प्रयोग गरिएको छ।

नेपाली बजारमा यो फोन ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ।

४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य २० हजार ९९९ रुपैयाँ छ। ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य २३ हजार ९९९ रुपैयाँ छ।